काठमाडौं, जेठ १३। मछिन्द्रनाथ देवताभन्दा कृषि वैज्ञानिक हुन् । ललितपुरको पहिलेको नाम ‘यल’ हो, किराँती राजा यलम्बरले स्थापना गरेको शहर भएकोले उनले आफ्नै नामबाट यल राखेका थिए। काठमाडौँ तथा बाहिरका आदिवासी नेवारहरु अहिलेसम्म नि ललितपुरलाई यल नै भन्छन्। पछि गएर यसको नाम ललितपुर हुन गएको हो।
ललितपुर नाम राख्नमा प्रमुख भूमिका रहेको मान्छे वा भनौँ कृषि वैज्ञानिक मछिन्द्रनाथ नै हुन्। आज नेवारहरु मच्छिन्द्रनाथलाई देवता मान्छन् । हिजोका दिनमा राम्रो मान्छे कालान्तरमा देवता भनेर नै पुजिने चलन थियो किनभने मच्छिन्द्रनाथ कै ज्ञानले नेपाललाई संस्कृति, कला र कौशलमा धनी बनाएको हो ।
अन्न वा खाना बाँच्नलाई चाहिने मुख्य कुरा हो । बिना खाना मान्छे स्वस्थ हुन सक्दैन र आफ्नो क्षमता अनुसार काम गर्न सक्दैन । लिच्छविकालीन समयमा नेपालमा पनि खानाको समस्या थियो । समय समयमा अनिकाल हुन्थ्यो, उब्जनी राम्रो हुँदैनथ्यो, दाना फलेपनि भित्र खोक्रो हुन्थ्यो । लिच्छविकालीन भक्तपुरका राजा नरेन्द्र देवले कामरुकामक्ष वा आजको आसाममा निकै ठुलो वैज्ञानिक बस्छन् उनको नाम मच्छिन्द्रनाथ हो भन्ने पत्ता लगाए । त्यसैले उनी उ बेलाको प्राविधिक अथवा तान्त्रिक पशुपतिका बन्धुदत्त आचार्य लिएर जाने र त्यहाँबाट कृषि विज्ञान सिकेर आउने विचार गरे ।
केही दिनपछि उनीहरू यल पाटनको एकजना भरिया वा किसान जसको नाम ललित थियो र बोलीचालीमा उनलाई ललित चा भन्थे, उनीसँगै आसाम गए। ललितले तीनजनाको लागि खाना, बिच्छ्यौना आदि बोके, राजा र तान्त्रिक अथवा प्राविधिक पछि पछि लागे । धेरै दुःख गरी महिनौँको हिडाईपछि उनीहरू आसाम पुगे ।
अति ठुलो प्रयास गरेपछि उनीहरूले कृषि प्राविधिक मच्छिन्द्रनाथलाई आसाममा भेटे । मच्छिन्द्रनाथले आफूले थाहा पाएको ज्ञान र नेपाल सुहाउँदो धेरै प्रकारका बीउहरू नेपालीहरूलाई दिने विचार गरे । यो कुरा मच्छिन्द्रनाथका आमालाई ठिक लागेन र ज्ञान नदिनु भने । तैपनि मच्छिन्द्रनाथले आगन्तुक नेपालीहरुलाई ज्ञान दिने राय व्यक्त गरे । भनाइ छ कि यो कुरामा मच्छिन्द्रनाथको आमा रिसाएर महारोग लागोस् भनि श्राप दिइन् । आमाको श्राप सहेरै भएपनि मच्छिन्द्रनाथले धेरै किसिमका नेपाल सुहाउँदो बिउको साथ घर बाहिर आए र नेपालको टोलीलाई कृषि प्राविधिक र धेरै प्रजातिका बीउबिजन प्रदान गरे।
नेपालमा मच्छिन्द्रनाथले पठाएका बीउहरू र मच्छिन्द्रनाथको कृषि ज्ञान अनुसार नेपालमा अन्नहरु रोपिए । त्यहि बीउबाट नेपालमा राम्रो उब्जनी भयो। प्रति रोपनी पहिलेभन्दा दश गुणा बढि अन्न फैलियो । त्यसको मुख्य श्रेय किसान वा भरीया ललित नै हुने कुरा राजा नरेन्द्रदेवले प्राविधिक बन्धुदत्त आचार्यलाई व्यक्त गरी बिदा भए । अब नेपालको राजा र प्रजाहरुले मच्छिन्द्रनाथको कदर स्वरुप नेपालमा उनको मन्दिर बनाउने विचार गरे ।
मन्दिर कहाँ बनाउने भन्ने कुरामा निकै ठुलो विवाद भयो । प्राविधिकको शहर काठमाडौंमा बनाउने, राजाको शहर भक्तपुरमा बनाउने वा किसानको शहर यलमा ? तर राजा नरेन्द्रदेव, तान्त्रिक बुद्ध दत्त आचार्यले नेपालमा अन्न फैलिएको श्रेय किसानलाई नै दिनुपर्ने र मच्छिन्द्रनाथको समेत त्यस्तै बिचार भएको भनि ललितपुरमै मच्छिन्द्रनाथको मन्दिर बनाउने निर्णय गरियो । त्यो बेलादेखि यसलाई किसान वा भरिया ललितको देश भनेर नेपालीहरुले चिने। अनि ललितपुर भनेर शहरको नामाकरण गरे ।
तसर्थ मच्छिन्द्रनाथको जात्रा कुनै धार्मिक महोत्सव होईन यो जात्रा अरु जात्राभन्दा निकै फरक छ । यो मच्छिन्द्रनाथको आशिर्वाद प्राप्त होस् भन्ने कामना हो । यति मात्र होइन, मच्छिन्द्रनाथ जात्रा अषाढमा खेति गर्न, आवश्यक ज्ञानमा छलफल गर्न, कृषि प्रविधि सिक्न र सिकाउने कामका लागि बैशाखमा गरिने छलफल र राम्रो बिउको बेचबिखन गर्न तथा बजार व्यवस्थापन गर्ने पनि मच्छिन्द्रनाथको जात्रा हो । तसर्थ स्थानीय बोलिचालीको भाषामा मच्छिन्द्रनाथलाई ‘बुदेव’ वा खेतको देवता पनि भनिन्छ ।
मच्छिन्द्रनाथले नेवारहरुलाई भिरालोमा गरा बनाएर खेती गर्न र आलिले पानि छेक्न, माटोको घैंटोमा सुरक्षित ठाउँ बीउ भण्डारण गर्ने प्रविधि सिकाएको हो । यि ज्ञान वा प्रविधिहरु नेपालमा राजा नरेन्द्रदेवको पालादेखि नै सुरु भएको हो ।
मच्छिन्द्रनाथको जात्राको सुरुमा काठमाडौंबासिहरुको लागि भनेर पुल्चोकबाट गाबाहालसम्म रथ तानिन्छ। भक्तपुरबासीहरुका लागि भनेर गाबाहालदेखि सुन्धारासम्म तथा ललितपुरकाबासीहरुका लागि भनेर यलको बीच भागमा वा सुन्धारादेखि लगनखेलसम्म रथ तानिन्छ । अनि दक्षिण भेगको गाउँहरु बाँडे गाउ, ठैब, थेचो, चाँपागाउँ, किर्तिपुर, पागा, मच्छेगाउँका जनताहरुका लागि भने लगनखेलदेखि जावलाखेलसम्म वा शहरको दक्षिणतिर रथ तानिन्छ ।
यो जात्रा मात्र होईन सबै नेपालीहरुले कृषि प्रविधि सिक्ने र सिकाउने पर्व हो तसर्थ मच्छिन्द्रनाथको जात्रा कुनै महोत्सव होईन यो नेपालको खेतीप्रणालीको अभिन्न अंग हो वा मच्छिन्द्रनाथलाई सम्झेर कृषि प्रविधि सम्झने दिन हो।