बालेनले बौद्ध धर्मगुरुलाई फिर्ता गरे मुकुट, भने- धार्मिक भावनामा चोट पुगेकोमा क्षमा चाहन्छौं

काठमाडौं । र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’लाई लिएर विवाद बढेपछि निर्णायक बालेन साह र विजेता भाइबर साइमनले बौद्ध धर्मगुरुलाई मुकुट फिर्ता गरेका छन् ।

सोमबार ज्याठामा आयोजित समारोहमा रियालिटी शोको तर्फबाट गल्ती भएको भन्दै बालेनले माफी माग्दै मुकुट बौद्ध गुरुलाई फिर्ता दिएका थिए । शोका निर्माता सुदीप पोखरेलले धार्मिक भावनामा ठेस पुर्‍याउने आफूहरुको उद्देश्य नरहेको भन्दै मुकुट फिर्ता दिइएको बताए ।

शनिबार सम्पन्न शोको फाइनलमा काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका साहले विजेता साइमनलाई पन्चबुद्धको आकृतिसहितको मुकुट पहिर्‍याइदिएका थिए । बौद्ध धर्ममा यस्तो मुकुट बज्राचार्यको पूजामा अभिषेक पाएपछि गुरुहरुले शिष्यलाई प्रदान गर्ने चलन छ ।

तर रियालिटी शोमा मुकुट प्रयोग भएपछि सम्पदा अभियन्ता विरोधमा उत्रिएका थिए । विवाद चर्किएपछि काठमाडौं महानगरपालिकामा यसबारे बैठक बसेको थियो । सोही बैठकको निर्णयपछि मुकुट बौद्ध गुरुलाई फिर्ता दिइएको हो ।

Source: Onlinekhabar.com